साम्बा भन्छिन्– माथिल्लो स्तरको टिमसँग राम्रो खेल्यौं, टिम उत्साहित छ

7 Jul, 2025
Share:
117 Shares

एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन्।

शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएका हुन्।

राष्ट्रिय टोलीकी कप्तानसावित्रा भण्डारी (साम्बा)ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताएकी छन्।

उनले खेलमा नेपाली टालीको प्रस्तुती देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको बताइन्।

‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ। यसले सकारात्मक सन्देश दिएको छ। हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौं,’ उनले भनिन्।

प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सँधै सताइरहने पनि उनको भनाइ छ।

उनले भनिन्, ‘यो खेल एकदमै ठूलो अवसर थियो। राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर राम्रो परिणाम दिन सकेनौं। यो कुराले सताइ रहन्छ।’
२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो।

योसँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो । नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।