
एसियाकप छनोटका लागि यू–२० महिला टिमको बिदाई, टिम आजै प्यालेस्टाइन जाने
यू–२० महिला एसिया कप छनोटका खेल्ने नेपाली टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बिहान एक कार्यक्रम गर्दै प्रतियोगिता खेल्ने नेपाली टिमको बिदाई गरेको हो।
एसिया कप छनोटका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले शुक्रबार मात्र २३ सदस्यीय टिम घोषणा गरेका थिए।
प्यालेस्टाइनमा हुने छनोट खेल्ने नेपाली महिला टिम आजै त्यसतर्फ प्रस्थान गर्ने छ।
मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बीमा छ । यस समूहमा प्यालेस्टाइन, युएई र नर्थन मारिया आइल्याण्ड छन् ।
यू–२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।
सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसिया कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।
नेपाली टोली : कविता बिक, सावित्री किसन, लिला जोशी (गोलकिपर), सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ (डिफेन्डर), तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही (मिडफिल्डर), गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान (स्ट्राइकर)