राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे। सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।
यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए।
कर्णालीका मार्क वाटले २ विकेट लिए।
चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ। यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ। चौथो खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य कर्णालीको हुनेछ।
एनपिएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमविरुद्ध कर्णालीले जित निकाल्न सकेको छैन् ।
