आयोजक युनाइटेड किङ्स क्लबले पोखरामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’मा लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पनि पहिलो जित दर्ता गरेको छ।
फेवा मल्टी प्रोडक्ट्स प्रालि पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आयोजक युनाइटेड किङ्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजकले पहिलो सेट ३५–३३, दोस्रो सेट २५–२१ र तेस्रो सेट २८–२६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकालेको हो।
त्यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ ले हराउँदै तीन अंक जोडेको छ। यसअघि बुधबार भएको पहिलो खेलमा पुलिस एपिएफ क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो।
बिहीबार हुने तेस्रो खेलमा गण्डकी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए।
प्रतियोगिताको उपाधि विजेताले चार लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए।
