फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा, प्रशिक्षक भन्छन्–कीर्गिस्तान बलियो छ, जित गाह्रो छ

16 Feb, 2025
Share:
117 Shares

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ।

प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरू सबै नेपाल आइसकेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्ने छ।

उद्घाटन खेलअघि नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तान बलियो टिम भएको बतउाँदै उनीहरुलाई हराउन निकै गाह्रो हुने बताए। ६ वर्षअघि आफूहरूले खेल्दा भन्दा अहिले कीर्गिस्तान निकै बलियो भएको उनले बताए।

‘कीर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा हामीले ८–२ले सहज रुपमा खेल जितेका थियौं। तर, अहिले त्यस्तो छैन। पहिले र अहिले कीर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ। त्यसैले जित निकाल्न गाह्रो हुने देख्छु।’

उनले नेपाली टिमको बलियो पक्ष ‘ग्रेट स्टक्चर’ भएको बतउाँदै टिमको संरचना बलियो बनाएर लैजानु पर्ने बताए। प्रशिक्षक तामाङले कीर्गिस्तान काउन्टर अट्याकमा राम्रो देखिएकाले जित निकाल्न त्यसलाई रोक्नु पर्ने उल्लेख गरे।

यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन्।