च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन पीएसजी विजयी भएको छ।
बुधबार राति भएको खेलमा पिएजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई उसकै मैदनमा ४–२ले हरायो।
इत्तिहाद रंगशालामा पाहुना टोली पीएसजीलाई जित दिलाउन डेसिरे डुए, ओस्माने डेम्बेले, भिटिन्हा र माग्नेस अक्लियुशले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले फर्काए।
खेलको १३औँ मिनेटमा डुएको गोलमार्फत फ्रेन्च क्लब पीएसजीले अग्रता लिएको थियो। दुई मिनेटपछि नै डेम्बेलेले टोलीको अग्रता दोब्बर बनाए।
भिटिन्हाले ३२औँ मिनेटमा पीएसजीका निम्ति तेस्रो गोल गरे ५३औँ मिनेटमा हालान्डले पहिलो गोल फर्काए ।
अक्लियुशले ६३औँ मिनेटमा गोल गर्दा पीएसजी ४–१ ले अगाडि बढ्यो। ७५औँ मिनेटमा हालान्डले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे।
लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको पीएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार व्यहोरेको सिटी समान खेलबाट तीन अंकका साथ १७औँ स्थानमा छ।
