अन्तर्राष्ट्रिय महिला च्यम्पियनसिप : ६ वर्षपछि कीर्गिस्तानसँग खेल्दै नेपाल, निस्केला त जित?

17 Feb, 2025
Share:
117 Shares

चार देशीय अन्तर्राष्ट्रिय महिला च्यम्पियनसिप फुटबल प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेवनान भीड्दै छन्। यो खेल दिउँसो २ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा आयोजक नेपालले कीर्गिस्तानसँग खेल्दै छ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

नेपाल र कीर्गिस्तान ६ वर्षपछि आमन–सामने हुन लागेका हुन्। ६ वर्षअघिको त्यो भीडन्तमा नेपाल ८–२को फराकिलो अन्तरले विजयी भएको थियो।

तर, अहिले अवस्था परिवर्तन भइरहेको छ। कीर्गिस्तानको महिला फुटबलमा निकै सुधार गरेको छ। त्यसैले नेपालले कीर्गिस्तानविरुद्ध मैदानमा उत्रँदा ६ वर्षअघिको जस्तो सहज महसूस गर्ने छैन। बरु उसलाई रोक्न कडा मेहनत गर्नेछ।

नेपाली टिमको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि प्रिम्याच कन्फ्रेन्समा कीर्गिस्तान पहिलाको जस्तो नरहेको बताउँदै खेल निकै गाह्रो हुने बताएका छन्। त्यसैले कीर्गिस्तानले ६ वर्षको अन्तरालमा महिला फुटबलमा निकै सुधार गरेको अनुमान गर्न कठीन छैन।

कीर्गिस्तानले पछिल्लो समय राम्रो फुबटल खेलिरहेको बताउँदै प्रशिक्षक तामाङले उनीहरुलाई हराउन निकै गाह्रो हुने बताए।

‘कीर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा हामीले ८–२ले सहज रुपमा खेल जितेका थियौं। तर, अहिले त्यस्तो छैन। पहिले र अहिले कीर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ। त्यसैले जित निकाल्न गाह्रो हुने देख्छु,’ प्रशिक्षक तामाङले भनेका छन्।

उनले नेपाली टिमको बलियो पक्ष ‘ग्रेट स्टक्चर’ भएको बतउाँदै टिमको संरचना बलियो बनाएर लैजानु पर्ने बताए। प्रशिक्षक तामाङले कीर्गिस्तान काउन्टर अट्याकमा राम्रो देखिएकाले जित निकाल्न त्यसलाई रोक्नु पर्ने उल्लेख गरे।

यता, कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगितालाई अवसर लिने बताएका छन्। भएको बताए। ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागी हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौं। महत्वपूर्ण कुरा युनिटी र क्यारेक्टर हो’ उनले भने।

यस्तै, उनले भरिभराऊ दर्शकमा माझ नेपालसँग खेल्न निकै कठीन हुने बताएका छन्।