एन्जलले २ पेनाल्टी बचाउँदा एपिएफ केपी ओली कपको अन्तिम ८मा

23 Feb, 2025
Share:
117 Shares

केपी ओली कपको उद्घाटन खेलमा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ। आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी क्लबलाई टाइब्रेकरमा हरायो।

ब्ल्याक बुल्सले भर्खरे सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेको थियो। आइतबार उसलाई एपिएफले ४–३ले हरायो।

निर्धातिर समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा गोलकिपर एन्जेल श्रेष्ठ नायक बने। उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाएका थिए।

अब एपीएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।

भोलि सोमबार दुई खेल हुनेछ। साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब र दिउँसो ३ बजे हुने खेलमा आयोजक केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) भीड्ने छन्।

फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।