पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिवविरुद्ध दिए साइबर ब्यूरोमा उजुरी

3 Mar, 2025
Share:
117 Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।

एन्फाकै पूर्वअध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै महासचिव राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका हुन्।

केही दिनअघि मात्र महासचिव राईले एक अन्तर्वार्ताका क्रममा पूर्वअध्यक्ष थापाले एन्फाको करोडौं रकम हिनामिना गरेको बताएका थिए।

सोही आरोपविरुद्ध पूर्वअध्यक्ष थापा साइबर ब्युरो पुगेका हुन्। थापाले सोको जनकारी विज्ञप्ति निकालेर दिएका छन्।

थापाले आफूले अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर महासचिव राईले चरित्रहत्या गर्ने प्रयास गरेको निवेदनमा उल्लेख गरेका थिए।

पूर्वअध्यक्ष थापाले‌ चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको बताएका छन्।

थापाले आफू कानुनी राज्यको हिमायति भएको भन्दै ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गर्न र आफू दोषी भएमा कानुन वमोजिम कारवाही भोग्न तयार रहेको बताएका छन्।

आफूमाथिको आरोप प्रमाणित नभएर महासचिव राईलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग पूर्वअध्यक्ष थापाले गरेका छन्।