अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन्। यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचित भएपछि शेर्पाले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउने बताए ।
खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन् । शेर्पाले कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
