राईजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि

8 Mar, 2025
Share:
117 Shares

बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लबले जितेको छ।

शनिबार भएको फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलो पटक उपाधि जितेको हो।

दोस्रो हाफको पहिलो मिनेटमै राईजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले राईजिङको उपाधि पक्का गरेका थिए।

उपाधि सहित राईजिङले ट्रफीसहित नगद ८ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए। उपविजेता बनेको कोहलपुर ४ लाख रूपैयाँ प्राप्त गरेको छ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले जिते। उनले ट्रफीसहित ५१ हजार प्राप्त गरे।

राईजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दिप केसी उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे। विधागततर्फ उत्कृष्ट बनेका उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे । राईजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गरे।