इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। लगातार दुई हारपछि जित निकाल्ने क्रममा राजस्थाले चेन्नई सुपर किंग्सलाई ६ रनले हरायो।
चेन्नाई सन् २०२१ पछि लगातार ९ खेलमा १७५ माथिको लक्ष्य पछ्याउन असफल भएको छ।
यता, पाँच पटकको च्याम्पियन चेन्नईको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मुम्बईलाई हराएको चेन्नई दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित भएको थियो।
१८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेटको क्षतिमा १७६ रनमात्र बनाउन सक्यो। उसका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन बताए। उनले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
बलिङमा राजस्थानका वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए भने जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन बनायो। उसका नितिस रानाले ३६ बलमा ८१ रन जोडे। उनले १० चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे।
बलिङमा चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान २ विकेट लिए।
