मुम्बई इन्डियन्सले आईपिएलमा पहिलो जित निकालेको छ। सोमबार राति घरेलु मैदान वानखेडेमा भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्समाथि ८ विकेटको सानदार जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै कोलकाताले दिएको ११७ रनको झिनो लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। मुम्बईका लागि रायन रिकल्टनले सर्वाधिक ६२ रन बनाए। उनले ४१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। सूर्यकुमार यदवले ९ बलमा २७ र विल ज्याक्सले १६ रन बनाए।
कोलकाताका लागि दुवै विकेट आन्द्रे रसेलल लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा ११६ रनमै अलआउट भयो। उसका लागि अंगकृष्ण रघुवंशीले सर्वाधिक २७ रन बनाउँदा रमनदीप सिंहले २२, मिनष पाण्डेले १९ र रिंकु सिंहले १७ रन बनाए।
कोलकाताको इनिङ धरासायी बनाउन डेब्यु खेलाडी आश्विनी कुमारले ४ विकेट लिए। उनले ३ ओभरमा २४ रन खर्चिए। यस्तै, दीपक चहरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, विगनेश पुथुर र मिचेल सान्टनरले समान १ विकेट लिए।
पहिलो जितसँगै मुम्बईले ३ खेलमा २ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ भने कोलकाता पनि समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा पुछारमा छ।
