आईपिएलमा मुम्बई र लखनउ भीड्दै, खेल होला त रोमाञ्चक?

4 Apr, 2025

आज जारी आईपीएलकाे १६औं खेल हुँदै छ। जसमा ५ पटकका च्याम्पियन मुम्बई इन्डियन्स र आईपिएलको कान्छो टिम लखनउ सुपर जायन्ट्स भीड्ने छन्।

प्रतियोगितामा मिश्रिमत प्रदर्शन गरेका यी दुई टिमको बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल लखनउको घरेलु मैदान एकानामा साँझ ७ः४५ बजे सुरु हुनेछ।

दुवै टोलीको हालको फर्म, खेलाडीको प्रदर्शन र मैदानको अवस्थालाई हेरेर यो खेलको विश्लेषण गर्ने प्रयास गरिएको छ।

टोलीको अवस्था

मुम्बई इन्डियन्स : मुम्बईले यो सिजनमा उतारचढावपूर्ण प्रदर्शन गरेको छ। सुरुका दुई खेल हारेपछि कोलकाता नाइट राइडर्सविरुद्धको पछिल्लो खेलमा शानदार जित हासिल गरेर टोलीले आत्मविश्वास फर्काएको छ।

तर, रोहित शर्माको फर्म उसको लागि चिन्ताको विषय छ। रोहितको ब्याटिङ अझै लयमा आइसकेको छैन । उनले ३ खेलमा २१ रन मात्र बनाउने सकेका छन्। सूर्यकुमार यादवको फर्किएको फर्मले भने मुम्बईलाई उत्साति बनाएको छ। पछिल्लो १ वर्ष शान्त रहेको सूर्यको पछिल्ला २ खेलमा गज्जबले चलेको छ।

यस्तै, पहिलो पटक आईपिएल खेलिरहेका रायन रिकेल्टन ब्याट चल्नु पनि उसका लागि सुखद हो। दुई खेलमा फ्लपका उनले कोलकाताविरुद्ध अर्धशतक बनाएका थिए ।

बलिङमा ट्रेन्ट बोल्ट र दीपक चाहरले पावरप्लेमा प्रभाव जमाएका छन् । जसप्रित बुमराहको अनुपस्थितिमा टोलीको फास्ट बलिङ युनिट बलियो देखिएको छ। तर, उसको स्पिनर लाइनअप भने केही कमजोर देखिएको छ।

लखनउ सुपर जायन्ट्स : लखनउको हालको फर्म भने चिन्ताजनक छ। पछिल्लो खेलमा पञ्जाब किंग्ससँग घरेलु मैदानमै ठूलो हार बेहोरेपछि टोली दबाबमा छ।

निकोलस पूरन (३ खेलमा १८९ रन, स्ट्राइक रेट २२०) एक्लै लडिरहेका छन्। उसलाई कप्तान ऋषभ पन्त )३ खेलमा १७ रन) र एडेन मार्करम फर्मले निराश बनाएको छ।

बलिङमा चोटका कारण उसलाई समस्या परेको छ। आईपिएल सुरु नहुँदै चोटकै मोहसिन खानलाई गुमाएको उसले मयंक यादव कहिले फर्कने हुने टुंगो लागेको छैन। चोटका कारण पहिलो खेल गुमाका आवेश खान टिममा त फर्किए, तर उनी प्रभावहीन छन्। तर उसलाई अकाश दीपको फिर्तीले केही राहत दिन सक्छ।

मुख्य खेलाडी र टक्कर

रोहित शर्मा vs रवि बिश्नोई: रोहितको सुरुआत सुस्त छ, तर लखनउको स्पिनर रवि बिश्नोईविरुद्ध उनको रेकर्ड कमजोर छ। बिश्नोईले रोहितलाई ३ पटक आउट गरेका छन्, र यो खेलमा पनि उनको लेग-स्पिनले मुम्बईको ओपनिङलाई ध्वस्त पार्न सक्छ। रोहितले यहाँ लय समात्न सके भने खेल मुम्बईको पक्षमा ढल्किन्छ।

सूर्यकुमार यादव vs शार्दुल ठाकुर: सूर्यकुमारको आक्रामक ब्याटिङ लखनउका लागि खतरा हो। शार्दुलविरुद्ध उनको रेकर्ड बलियो छ (५९ बलमा ८० रन, १ आउट), र उनले यहाँ ठूलो स्कोर बनाउन सक्छन्।

निकोलस पूरन vs ट्रेन्ट बोल्ट: पूरन लखनउको एकमात्र भरपर्दो ब्याट्सम्यान हुन्। बोल्टको स्विङ बलिङले उनलाई रोक्ने प्रयास गर्नेछ, तर पूरनको फर्म हेर्दा यो टक्कर रोचक हुनेछ।

पिच र अवस्था

एकाना स्टेडियमको कालो माटोको पिच स्पिनरहरूका लागि सहयोगी मानिन्छ। यहाँ औसत स्कोर १६०–१७० को हाराहारी छ। र टस जितेर पहिले बलिङ गर्ने टोलीलाई फाइदा हुन सक्छ।

स्पिनरहरूको अर्थतन्त्र दर यहाँ ७.४४ र औसत २६.०७ छ, जसले मुम्बईको मिचेल स्यान्टनर, मुजिब उर रहमान र लखनउको रवि बिश्नोईलाई खेलको कुञ्जी बनाउन सक्छ।

सम्भावित नतिजा

मुम्बईको बलियो बलिङ र हालको आत्मविश्वासले उनीहरूलाई लखनउविरुद्ध हावी बनाउन सक्छ। लखनउको ब्याटिङ लाइनअप कमजोर देखिन्छ, र यदि पूरनले ठूलो स्कोर बनाउन सकेनन् भने टोली संकटमा पर्नेछ।

मुम्बईले पहिलोपटक लखनउलाई उसकै घरमा हराउने सम्भावना बलियो छ। मुम्बईको जितले लखनउको घाउमा नुनचुक छर्कने काम गर्नेछ, तर पूरनको विस्फोटक इनिङ्सले खेललाई राेमाञ्चक बनाउन सक्छ।

जितकाे सम्भावना मुम्बई इन्डियन्स ६० % र लखनउ सुपर जायन्ट्स ४० % छ। टस र पिचको फाइदा लिने टोलीले खेल जित्न सक्छ।