इण्डो नेपाल क्रिकेट : होराइजनको विजय सुरूवात

5 Apr, 2025

चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१९ रनको विशाल स्कोर बनायो । होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले। उनको साथ अभिषेक कार्कीले अविजित ४६ रन बनाए। उलने १५ बलमा ३ छक्का र ६ चौका प्रहार गरे।

फिर्दाेश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए। जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए।

२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाइ ११२ रनमा अलआउट भयो। जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए ।

विजेता टोली होराइजनका दिपेश कँडेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने फिर्दोस अन्सारी र मीनाश थापाले समान २ विकेट लिए।

आइतबार दुई वटा खेलहरू हुनेछ। पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ।