पञ्जाबमाथि राजस्थानको सानदार जित

6 Apr, 2025

आईपीएल २०२५ को १८औं खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ५० रनले पराजित गर्दै सानदार जित हासिल गरेको छ।

मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २०६ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमा समेटियो।

पञ्जाबको ब्याटिङ भने सुरुदेखि नै दबाबमा पर्‍यो। राजस्थानका बलर जोफ्रा आर्चरले पहिलो ओभरमै पञ्जाबका ओपनर प्रियंश आर्या र कप्तान श्रेयस अय्यरलाई आउट गर्दै टिमलाई दबाबमा राखे। प्रियंश शून्य रनमा र श्रेयस १० रनमा पवेलियन फर्किए।

मध्यक्रममा नेहाल वाधेराले ६२ रनको अर्धशतकीय पारी खेलेर टिमलाई सम्हाल्ने प्रयास गरे। ग्लेन म्याक्सवेलले पनि ३० रन जोडे। तर, यी दुई खेलाडी आउट भएपछि पञ्जाबको इनिङ्स धराशायी भयो।

राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने सन्दीप शर्मा र महेश थीक्षानाले २-२ विकेट हात पारे।

राजस्थानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनायाे। याे मुल्लापुरमा बनेकाे अहिलेसम्मकै उच्च स्काेर हाे।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ६७ रन बनाए। उनले ४५ बलमा यो रन जोडेका थिए। कप्तान सञ्जु स्यामसनले पनि ३१ रनको योगदान दिए।

मध्यक्रममा रियान परागले अविजित ४३ रन बनाए भने शिमरोन हेटमायरले २० रन जोडे। अन्तिम ओभरमा ध्रुव जुरेलले १३ रनको महत्वपूर्ण योगदान दिँदै टिमलाई २०० रनको कूल स्कोर पार गराए।

बलिङमा पञ्जाबका लागि लकी फर्गुसनले २ विकेट लिए भने अर्शदीप सिंह र मार्को जेन्सनले १-१ विकेट हात पारे।

यो जितसँगै राजस्थानले आईपीएल २०२५ मा दोस्रो जित हासिल गरेको छ र अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ। पञ्जाब भने यो हारपछि चौथो स्थानमा झरेको छ। पञ्जाबले यसअघि लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो, तर यो हारले उनीहरूको घरेलु मैदानमा पहिलो खेलमा हारको सामना गर्नुपरेको छ।

आगामी खेलमा पञ्जाबले अप्रिल ८ मा चेन्नई सुपर किंग्ससँग मुल्लानपुरमै खेल्नेछ भने राजस्थानले अप्रिल ९ मा अहमदाबादमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।