साइको उत्कृष्ट ब्याटिङमा राजस्थानमाथि गुजरातको शानदार जित, शीर्ष स्थानमा उक्लियो

10 Apr, 2025

इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले आफ्नो लयलाई कायमै राखेको छ। जारी सिरिज बल र ब्याट दुवैमा ब्यालेन्स देखिएको गुजराजतले राजस्थान रोयल्समाथि ५८ रनको ठूलो अन्तरले जित निकाल्यो।

यो जितसँगै गुजरातले लगातार चौथो जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। राजस्थान पाँच खेलमा तेस्रो हारसँगै सातौं स्थानमा झरेको छ।

राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिले बलिङ रोजेका थिए। गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २१७ रनको विशाल स्कोर बनायो।

ओपनर साइ सुदर्शनले ५३ बलमा ८२ रनको शानदार पारी खेले, जसमा ८ चौका र ३ छक्का समावेश थियो। उनले जोस बटलर (३६ रन) सँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे। मध्यक्रममा शाहरुख खानले २० बलमा ३६ रन बनाए भने राहुल तेवटिया र राशिद खानले अन्तिम दुई ओभरमा ३० रन जोडेर टिमको स्कोर २०० पार गराए। राजस्थानका लागि तुषार देशपाण्डे र महीशा थिक्सानाले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा आएको राजस्थान १९.२ ओभरमा १५९ रनमा समेटियो। उसका शिम्रोन हेटमायरले ५२ रन र कप्तान सञ्जु स्यामसनले ४१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्।

गुजरातका लागि प्रसिद्ध कृष्णाले ३ विकेट लिए भने राशिद खान र साइ किशोरले पनि समान २ विकेट लिए।