चेन्नई सुपर किङ्सका प्रशंसकहरूका लागि ठूलो खुसीको खबर आएको छ। लेजेन्डरी खेलाडी महेन्द्रसिंह धोनी कप्तानमा फर्किएका छन्।
चोटका कारण कप्तान रुतुराज गायकवाडले आईपिएलका बाँकी खेल गुमाउने भएपछि चेन्नईले पुनः धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो।
आईपीएलमा चेन्नई सुपर किङ्सले खराब सुरुवात गरेको छ। पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराए पनि त्यसपछिका चार खेलमा लगातार हार बेहोरेको छ।
गायकवाडले राजस्थानविरुद्धको खेलमा कोहनीमा चोट बोकेका थिए। ब्याटिङका क्रममा उनको कुइनामा बलले लागेको थियो। उनले सो खेलमा अर्धशतक बनाएका थिए। त्यसपछि दुवै खेल पनि उनको ब्याटबाट रन भने बनेको थिएन। चोट झन बढेपछि गायकवाडले आईपिएलका पुरै सिजन गुमाउने भएका हुन्।
धोनीको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएल उपाधि जितेको छ—सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा। उनले टिमलाई १० पटक फाइनलमा पुर्याएका छन्, जुन आईपीएल इतिहासमा कुनै पनि टिमको सर्वाधिक हो।
४३ वर्षीय धोनीले यो सिजनमा ब्याटिङमा भने अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। पञ्जाब किङ्सविरुद्धको खेलमा उनले २६ बलमा ३० रन बनाए, तर टिमलाई जिताउन सकेनन्।
उनको ब्याटिङ पोजिसन र प्रदर्शनलाई लिएर प्रशंसकहरूले सामाजिक सञ्जालमा आलोचना पनि गरेका छन्। कतिपयले उनलाई रिटायर हुन सुझाव दिएका छन्, तर धोनीले हालै एक पोडकास्टमा भनेका थिए, ‘म अझै एक वर्ष खेल्छु कि खेल्दिनँ, त्यो मेरो शरीरले बताउनेछ। म १० महिनापछि निर्णय लिन्छु।’
धोनीको कप्तानीमा फर्कने खबरले प्रशंसकहरूमा उत्साहको लहर छाएको छ। चेन्नई सुपर किङ्सले आफ्नो आधिकारिक ह्यान्डलमा लेखेको छ, ‘कप्तान महेन्द्रसिंह धोनी फेरि टिमको नेतृत्वमा फर्किएका छन्। थाला फेरि कमान सम्हाल्न तयार छन्।’
प्रशंसकहरूले सामाजिक सञ्जालमा ‘थाला ब्याक र धोनी फरएभर’ जस्ता ह्यासट्याग ट्रेन्ड गराइरहेका छन्।
धोनीको पहिलो चुनौती अब अप्रिल १२ मा दिल्ली क्यापिटल्सविरुद्धको खेल हुनेछ। टिमको खराब लयलाई तोड्दै पुरानो चमक फर्काउने जिम्मेवारी उनको काँधमा छ।
धोनीले आफ्नो अनुभव र रणनीतिक कौशलले टिमलाई कसरी अघि बढाउँछन्, त्यो हेर्न प्रशंसकहरू आतुर छन्।