यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

14 Apr, 2025

घरेलु मैदानमा आजबाट सुरु भएको यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार मुलपानी क्रिकेट मैदानमा भएको वर्षा प्रभावित खेलमा नेपालले युएईमाथि डिएल मेथर्डमा ५ रनको जित निकाल्यो।

यायिन किरण रायको रायको अविजित १ सय ४ रनमा २ सय १ रनको लक्ष्य लिएर आएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाई १ सय ७१ रन बनाएको समयमा खेल सामान्य वर्षा र मधुरो प्रकाशका कारण खेल रोकिएको थियो, जतिखेर नेपाल डक वर्थ लुइस पद्धतिमा ५ रनले अगाडि थियो।

खेल रोकिनु २ बल अगाडि सन्तोष यादवले करण धिमनलाई १५ रनमा एलबीडब्लू आउट गर्नु खेलमा नेपालको निर्णायक मोड बन्यो, जसले नेपाललाई डक वर्थ लुइस पद्धतिमा यूएईभन्दा अगाडि ल्याएको थियो। त्यत्तिखेर साँझको ५.३५ भइसकेको थियो। अम्पायरहरूले त्यसको २० मिनेटपछि थप खेल हुन नसक्ने भनेपछि नतिजा नेपालको पक्षमा आएको थियो।

राईले ९६ बलको इनिङ्समा ८ चौका र ५ छक्का प्रहार गरी नेपालको हातबाट खेल निकाल्ने प्रयास गरेका थिए। नेपालले पहिलो ओभरमा दुवै ओपनर आयन मिसबाह (४) र अक्षत राई (०) लाई आउट गरे पनि किरण राई र रायन खानले तेस्रो विकेटका लागि १६ ओभरमा ७५ रनको साझेदारी गरे। रायनले ५१ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३५ रन बनाए।

नेपालका लागि सन्तोष र अशोक धामीले २–२ विकेट लिए। सन्तोषले ८ ओभरमा १ मेडन राख्दै २३ र अशोकले ८ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेका थिए। अभिषेक तिवारी र कप्तान नरेन भट्टले १–१ विकेट लिए ।

यसअघि नरेनको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको नेपाल ४० ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई २ सय रन बनाएको थियो। नरेनले मूलपानी क्रिकेट रंगशालामा खेलिएको पहिलो अन्तर्राष्ट्रिय खेलमा ६७ रन बनाए। उनले ७५ बल खेल्दै ७ चौका प्रहार गरे । साहिल पटेल र निरजकुमार यादवले ८ ओभर भित्र ३२ रन जोडी नेपाललाई मध्यम सुरुआत दिलाएका थिए।

निरज २४ बल खेली ३ चौका प्रहार गरी १८ रनमा आउट भए। साहिलले ५४ बल खेली ४ चौका प्रहार गरी ३२ रन बनाए । सन्तोष यादव ११, रोशन विश्वकर्मा ४, अभिषेक तिवारी १, दर्श सोनार ५ र अपराजित पौडेल शून्यमा आउट भए। दिलशाद अलीले ४० बल खेली १ छक्कासहित ३४ रन बनाए।

यूएईबाट उदिस सुरीले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । युग शर्मा र सालोम डी सुजाले २–२ विकेट लिए।

मैदान भिजेका कारण निर्धारित समयभन्दा साढे २ घण्टा ढिला ११.३० मा सुरु भएको थियो।

नेपाल र यूएईसहित अफगानिस्तान, ओमान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ।