इन्डियन प्रिमियर लिग अन्तर्गत खेलमा आइतबार राति भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ। अरुण जेटली स्टेडियममा भएको खेलमा पछिल्ला तीन बलमा तीन रनआउट गर्दै मुम्बईले दिल्ली क्यापिटल्समाथि १२ रनको जित निकाल्यो।
मुम्बईका पछिल्ला तीन खेलको नतिजा १२ रनमै सकिएको छ। यसअघिका २ खेल मुम्बईले १२ रनले नै हारएको थियो भने आइतबार दिल्लीलाई १२ रनले नै हरायो।
मुम्बईको यो सिजनको दोस्रो जित हो। यता, दिल्लीको भने यो पहिलो हार हो। यसअघि उसले लागतार चार खेल जितेको थियो।
मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। तिलक वर्माले ३३ बलमा ५९ रनको शानदार पारी खेले, जसमा ३ चौका र ६ छक्का समावेश थियो। उनको यो पारी मुम्बईको मध्यक्रमको मुख्य आधार बन्यो।
यस्तै रायन रिकेल्टनले २५ बलमा ४१ रन र सूर्यकुमार यादवले २८ बलमा ४० रन बनाएर सुरुवाती गति दिए। नमन धिरले १७ बलमा ३८ रनको आक्रामक पारी खेल्दै मुम्बईलाई २०० रन पार गराए।
बलिङमा दिल्लीका लागि कुलदीप यादव र विपराज निगमले समान २ विकेट लिए।
जवाफी ब्याटिङमा दिल्लीले राम्रो सुरुवात गर्यो। करुण नायरले ४० बलमा ८९ रनको शानदार पारी खेले, जसले दिल्लीको आशा बलियो बनाएको थियो। दोस्रो विकेटका लागि अभिषेक पोरेलसँग १०० रनको साझेदारी गरे। करुण तीन वर्षपछि आईपिएलमा फर्किएका हुन्।
तर, १२औँ ओभरमा मिचेल स्यान्टनरले नायरलाई आउट गरेपछि दिल्लीको पारी ओरालो लाग्यो। मुम्बईका स्पिनर कर्ण शर्माले ३ विकेट लिएर दिल्लीको मध्यक्रमलाई ध्वस्त पारे। उनले केएल राहुल (१५ रन) लाई क्याच एन्ड बोल्ड गरे, जुन खेलको टर्निङ प्वाइन्ट बन्यो।
दिल्लीले १९औँ ओभरमा जसप्रित बुमराहको ओभरमा लगातार तीन रनआउट बेहोर्दै खेल गुमायो। अशुतोष शर्मा (१७ रन), कुलदीप यादव (१ रन) र मोहित शर्मा (० रन) रनआउट भए। मिचेल स्यान्टनरले पनि २ विकेट लिए।
यो हारले दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ, भने मुम्बईले ६ खेलमा दोस्रो जित हासिल गर्दै आफ्नो सम्भावना कायम राखेको छ।
यो खेलमा मुम्बईले २०० भन्दा बढी रनको स्कोर डिफेन्ड गर्दै रेकर्ड बनायो । मुम्बई १५ खेलमा पटक २००ं स्कोर डिफेन्ड गर्दा हारेको छैन। साथै, यो सिजनमा १२ मध्ये १० पटक २००ं स्कोर डिफेन्ड भएको छ।