इन्डियन प्रिमियर लिगलाई विश्वभर ब्याट्सम्यानहरूको स्वर्ग मानिन्छ, जहाँ ठूलो स्कोर र लगातार छक्का–चौकाहरू सामान्य कुरा हो।
तर, कहिलेकाहीँ बलरहरूले आफ्नो कला र रणनीतिले सबैलाई चकित पार्दै कम योगफल पनि डिफेन्ड गरेर इतिहास रचेका छन्। यस्ता खेलहरूले टी–२० क्रिकेटको अप्रत्याशिततालाई झल्काउँछन्, जहाँ कुनै पनि स्कोर सुरक्षित हुँदैन र बलरहरूले खेलको नतिजा उल्टाइदिन सक्छन्।
यहाँ हामी आईपीएल इतिहासमा सबैभन्दा कम योगफल डिफेन्ड भएका शीर्ष ५ खेलहरूको चर्चा गर्दछौँ, जहाँ बलरहरूले चमत्कार गरेर टिमलाई असम्भव जित दिलाए।
१. कोलकाताविरुद्ध पञ्जाबद्वारा १११ रन डिफेन्डर
जारी आईपीएलको १८औं संस्करणमा मंगलबार पञ्जाब किङ्सले इतिहास रच्यो, जहाँ उनीहरूले कोलकाता नाइट राइडर्सविरुद्ध मात्र १११ रनको लक्ष्य डिफेन्ड गरे।
मुल्लानपुरको महाराजा यादवेन्द्र सिंह स्टेडियममा भएको यो खेलमा पञ्जाबले टस जितेर ब्याटिङ गरेको थियो। ऊ उत्कृष्ट सुरुआतका बाबजु ऊ १५.३ ओभरमा १११ रनमै अलआउट भयो। पञ्जाबका ओपनर प्रभसिमरन सिंहले ३० र प्रियंश आर्याले २२ रन बनाए, तर मध्यक्रम पूरै ध्वस्त भयो। कोलकाताका हर्षित रानाले ३ र स्पिनरहरू वरुण चक्रवर्ती र सुनिल नारायण समान २ विकेट लिए।
जवाफी ब्याटिङमा आएको कोलकाता एक समय ६२–१ को बलियो अवस्थामा थियो। तर, पञ्जाबका बलरहरूले कमब्याक गरे। युजवेन्द्र चहलले ४–२८ को शानदार प्रदर्शन गरे। मार्को यान्सनले पनि ३ विकेट लिए।
कोलकाता १५.१ ओभरमा ९५ रनमै अलआउट भयो, र पञ्जाबले १६ रनको ऐतिहासिक जित हासिल गर्यो। यो आईपीएल इतिहासमा डिफेन्ड गरिएको सबैभन्दा कम योगफल हो। पञ्जाबका प्रशिक्षक रिकी पोन्टिङले यो आफ्नो खेल जीवनको सबैभन्दा ठूलो जित भएको बताए।
२. चेन्नईद्वारा पञ्जाबविरुद्ध ११६ रनको लक्ष्य डिफेन्ड
आईपीएल २००९ मा चेन्नई सुपर किङ्सले किङ्स इलेभेन पञ्जाबविरुद्ध डरबनमा ११६ रनको योगफल डिफेन्ड गरेर रेकर्ड बनायो। चेन्नइले पहिले ब्याटिङ गर्दै २० ओभरमा ११६–९ स्कोर बनाएको थियो । जसमा पार्थिव पटेलले ३२ रन बनाए। पञ्जाबका एस श्रीसन्त र इरफान पठानले समान २ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा पञ्जाबले ८ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो। र, खेल चेन्नईले २४ रन जितेको थियो। चेन्नईका बलरहरूले शानदार प्रदर्शन गरे– जसमा मुथैया मुरलिथरनले ४ ओभरमा ८ रन दिएर २ विकेट लिए भने रविचन्द्रन अश्विन र सुरेश रैनाले पनि कसिलो बलिङ गरे। पञ्जाबका शीर्ष सात ब्याट्सम्यानमध्ये ६ जना एकल अंकमा आउट भए। यो रेकर्ड १५ वर्षपछि मंगलबार पञ्जाब तोडेको हो।

३. हैदराबादले मुम्बईविरुद्ध ११८ रनको लक्ष्य डिफेन्ड
आईपीएल २०१८ मा सनराइजर्स हैदराबादले वानखेडे स्टेडियममा मुम्बई इन्डियन्सविरुद्ध ११८ रनको योगफल डिफेन्ड गरेर सबैलाई चकित पार्यो। हैदरावदले पहिलो ब्याटिङ गर्दै १८.४ ओभरमा अलआउट हुँदै ११८ रनमात्र बनायो। खेल मुम्बईले सहजै जित्ने अनुमान गरिएको थियो। तर उनीहरूका बलरहरूले खेल उल्टाइदिए। जसमा सिद्धार्थ कौलले ३–२३, राशिद खानले २–११ र बासिल थम्पीले २–४ को प्रदर्शन गरे। मुम्बई १८.५ ओभरमा ८७ रनमै समेटियो।
मुम्बईका सुर्यकुमार यादव (३४) र क्रुनाल पाण्ड्या (२४) बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। खेलमा राशिद खानले १६ डट बल गरेका थिए ।
४.मुम्बईविरुद्ध पञ्जाबद्वारा ११९ डिफेन्ड
आईपीएल २००९ मा डरबनमा किङ्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सविरुद्ध ११९ रन डिफेन्ड गरेको थियो। पञ्जाबले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सकेको थियो। जसमा कुमार सांगाकाराले ४५ रनको महत्त्वपूर्ण पारी खेले।
मुम्बईका लागि जेपी डुमिनीले ५९ रन बनाए। बनाए पनि अन्यले साथ नदिँदा मुम्बईले ११६ रन मात्र बनाउन सकेको थियो । पञ्जाबका इरफान पठान र युसुफ अब्दुल्लाले समान २ विकेट लिए।
५. हैदरावादद्वारा पुणेविरुद्ध ११९ रन डिफेन्ड
आईपीएल २०१३ मा पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सनराइजर्स हैदराबादले पुणे वारियर्स इन्डियाविरुद्ध ११९ रनको योगफल डिफेन्ड गर्यो। हैदरावादले ८ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सकेको थियो । उसका बिप्लब समान्त्रायले ३७ र अमित मिश्राले ३० रन बनाए।
जवाफी ब्याटिङमा आएको पुणे १९ ओभरमा १०८ रनमै अलआउट भयो, र खेल हैदरावादले ११ रनले जितेको थियो।
जसमा अमित मिश्राले १९ रन मात्र खर्चेर ४ विकट लिए। जसमा ह्याट्रिक पनि सामेल थियो। यस्तै, थिसारा परेराले ३ विकेट लिए। पुणेले ५ विकेट मात्र ७ रनमा गुमाएर खेल गुमायो।