बुधबार इन्डियन प्रिमियर लिगको जारी सिजनको पहिलो सुपर ओभर भएको छ। जसमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हरायो। यो जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
अरुण जेट्ली स्टेडियममा भएको यो रोमाञ्चक खेलमा दुवै टिमले २० ओभरमा समान १८८ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। दिल्लीले सुपर ओभरमा राजस्थानलाई हराएयो। सन् २०१३मा बैंग्लुरुसँग हारेयता दिल्लीले लागतार चार सुपर ओभर जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले अभिषेक पोरेलको ४९ रनको महत्त्वपूर्ण योगदानमा ५ विकेटको क्षतिमा १८८ रन बनायो। यस्तै, अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए। केएल राहुलले पनि ३८ रन बनाए। बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।
१८९ रनको लक्ष्य पछ्याएको राजस्थानले यशस्वी जायसवाल र नितिश रानाको अर्धशतक मद्दतले खेललाई रोमाञ्चक बनायो। जायसवाल र सञ्जु सामसन (३१ रन, १९ बल)ले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। तर सामसन छैटौँ ओभरमा रिबको चोटका कारण रिटायर्ड हर्ट भए।
राजस्थानलाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो, तर दिल्लीका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ८ रन मात्र दिए। अन्तिम बलमा ध्रुव जुरेलले दोस्रो रन लिने प्रयासमा रनआउट भएपछि खेल सुपर ओभरमा पुग्यो।
सुपर ओभरमा राजस्थानले पहिले ब्याटिङ गर्यो, तर मिचेल स्टार्कको बलिङमा शिमरोन हेटमायर र रियान पराग रनआउट भए। राजस्थानले ५ बलमा ११ रन मात्र बनायो।
दिल्लीले जवाफी ब्याटिङमा १२ रनको लक्ष्य ४ बलमै पूरा गर्यो। केएल राहुलले २ रन र १ चौका प्रहार गरे भने ट्रिस्टन स्टब्सले सन्दीप शर्माको चौथो बलमा छक्का हानेर जित सुनिश्चित गरे।
यो जितसँगै दिल्ली क्यापिटल्सले ६ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थान भने ७ खेलमा ५ हारसहित आठौं स्थानमा छ।