सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

कार्लो एन्सेलोटी बने ब्राजिल नयाँ प्रशिक्षक

इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन्।

ब्राजिलियन फुटबल महासङ्घका अध्यक्ष एड्नाल्डो रोड्रिग्सले सोमबार साँझ एन्सोलोटी ब्राजिलको प्रशिक्षक नियुक्त भएको घोषणा गरे। उनी ब्राजिलको फुटबल टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक हुन्।

६५ वर्षीय एन्सेलोटीले रियल म्याड्रिडसँगको सम्झौता सकिएपछि जुनदेखि ब्राजिलको नेतृत्व सम्हाल्ने छन्। र, उनको प्राथमिक लक्ष्य २०२६ फिफा विश्वकपमा छनोट गराउनु र जिताउनु हुनेछ।

अहिले रियलमा रहेका एन्सोलोटीको सम्झौता जुनमा सकिने छ। यो सिजन खराब प्रदर्शन गरेपछि रियलले एन्सोलोटीको सम्झौता नवीकरण नगर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

मार्चमा डोरिभाल जुनियरलाई बर्खास्त गरेपछि ब्राजिल नयाँ प्रशिक्षक खोजीमा थियो। ब्राजिलले एन्सेलोटीलाई लामो समयदेखि पहिलो रोजाइमा राखेको थिए। उनले जुनमा इक्वेडोर र प्याराग्वेविरुद्धका विश्वकप छनोट खेलमा टिम सम्हाल्ने अपेक्षा गरिएको छ।

एन्सेलोटीले रियल म्याड्रिडमा दुई ला लिगा र तीन च्याम्पियन्स लिगसहित १० उपाधि जितेका छन्। र, उनी विश्वकै सबैभन्दा सफल क्लब प्रशिक्षकमध्ये एक मानिन्छन्।

ब्राजिलले उनको अनुभवलाई २०२६ विश्वकपको तयारीमा उपयोग गर्ने योजना बनाएको छ, जहाँ उनी भिनिसियस जुनियर, रोड्रिगो, र एडर मिलिटाओ जस्ता आफ्ना पूर्व खेलाडीलाई नेतृत्व गर्नेछन्।

1.3Kशेयर