महिला विश्वकप छनोटमा नेपालले हङकङसँग खेल्दै

13 May, 2025
Share:
117 Shares

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको समूहको तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ।

दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ। नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ। हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ। त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ।

नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ। हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ।

दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो। उक्त सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो।

नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए। दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो।

हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले ऊ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ।

नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ। अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ।