शनिबार क्रिस्टल प्यालेसका लागि विशेष रह्यो। उसले शनिबार आफ्नो इतिहासकै पहिलो उपाधिको रुपमा एफए कप जित्यो, त्यो पनि म्यान्चेस्टर सिटीलाई हराउँदै । उसले ११९ वर्षपछि उपाधि जितेको हो।
ऐतिहासिक उपाधि जित्ने क्रममा प्यालेसले वेम्बली स्टेडियममा म्यानचेस्टर सिटीमाथि १–० को जित निकाल्यो। खेलमा उसका इबेरेची एजेले निर्णायक गोल गरे।
पहिलो हाफको १६औं मिनेटमा एजेले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाए। पहिलो हाफमै सिटीले खेलमा फर्काउने अवसर पायो। बर्नार्डो सिल्भालाई डिबक्समा लडाएपछि ३६औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो।
अर्लिङ हालान्ड सिटीका पहिलो पेनाल्टी टेकर थिए। तर, उनले नै ओमार मार्मोसको पेनाल्टी प्रहारका लागि बल दिए। तर, मार्मोसको प्रहार प्यालेसका डिन हन्डरसनले बचाउँदा सिटीले खेलमा फर्काने अवसर गुमाएको थियो।
त्यसपछि गोल नहुँदा क्रिस्टल प्यालेस विजयी भयो। दोस्रो हाफमा सिटीले दबाब बढायो, तर हन्डरसनको शानदार प्रदर्शन र प्यालेसको रक्षात्मक खेलले उनीहरूलाई बराबरी गर्नबाट रोके।
यो जितसँग प्यालेसले सन् १९९० र २०१६ मा म्यानचेस्टर युनाइटेडविरुद्ध हारेका फाइनलको पीडालाई मेटाएको छ। यो उनको तेस्रो एफए कप फाइनलमा पहिलो सफलता हो। ओलिभर ग्लार्स्नर प्रशिक्षणमा प्यालेसले २१ खेलमा जित हासिल गर्दै यो सिजनको उत्कृष्ट प्रदर्शन गरेको छ।
यो उपाधिसँगै प्यालेसलाई युरोपा लिगमा पनि स्थान बनाएको छ।
यता, यो हारले सिटी पेप ग्वार्डिआलाको नेतृत्वमा पहिलो पटक उपाधि बिहीन बन्यो। सिटीले लागतार दोस्रो पटक एफए कप फाइनल गुमाएको हो। अघिल्लो सिजन ऊ म्यान्चेस्टर युनाइटेडसँग पराजित भएको थियो।
