इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। मंगलबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बोर्नेमाउथमाथि ३–१ को सानदार जित निकाल्यो।
यो जितपछि सिटी तेस्रो स्थानमा उक्लिएको छ। र, उसको च्याम्पियन्स लिग सम्भावना बलियो भएको छ। प्रिमियर लिगबाट च्याम्पियन लिभरपुल र आर्सनलले यअसघि नै च्याम्पियन्स लिगमा स्थान बनाइसकेका छन्। अन्य तीन टिमको टुंगो भने अन्तिम चरणबाट मात्र लाग्नेछ।
च्याम्पियन्स लिगको तीन स्थानका लागि सिटीसहित ५ टिम प्रतिस्पर्धात्मा छन्। जसमा न्युकासल, चेल्सी र एस्टनभिल्ला छन्, उनीहरुको समान ६६ अंक छ भने ६५ अंक जोडेको नटिङ्घम फरेस्ट पनि यो सूचीमा छ। सिटीको भने ६८ अंक छ।
खेलमा सिटीलाई जित दिलाउन मोहम्मद मारमौस, बर्नार्डो सिल्भा र निको गोन्जालेसले गोल गरेका थिए भने बाेर्नेमाउथका ड्यानिअल जेबिन्सनले गाेल गरे।
१४औं मिनेटमा मारमौसले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्र्दै सिटीलाई सुरुआती अग्रता दिलाए। ३८औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले पहिलो हाफमा २–०को अग्रता लियो। ८९औं मिनेटमा गोन्जालेसले गोल गरेपछि सिटी ३–० ले अघि भयो।
इन्जुरी समयको छैठौं मिनेटमा बोर्नेमाउथका ड्यानिअल जेबिन्सनले सान्त्वना गोल गरेका थिए। थप गाेल नहुँदा सिटी ३-१ले विजयी भयाे।
खेलको अन्त्य भने दुवै टिमले १० खेलाडीमा रहेर गरे। सिटीका माटेओ कोभासिचले ६७औं र बोर्नेमाउथका लेविस कुकले ७३औं मिनेटमा रातो कार्ड पाएका थिए।
यो सिटीका कप्तान केभिन डे ब्रुयनको इत्तिहादमा अन्तिम खेल थियो। यसअघि नै उनले सिजनको अन्त्यसँगै सिटी छाड्ने घोषणा गरिसकेका थिए। खेलपछि डे ब्रुयनलाई दर्शकहरू उठेर सम्मान प्रकट गरेका थिए।
यस्तै, यही खेलमार्फत बालोन डे’ओर विजेता मिडफिल्डर रोड्री पनि चोटमुक्त हुँदै मैदान फर्किएका छन्। गत सेप्टेम्बरमा घाइते भएका रोड्री ८ महिना पछि मैदान फर्किएका हुन्। उनले यो सिजन ४७ खेल गुमाए। मंगलबार उनी ८३औं मिनेटमा अर्लिङ हालान्डको स्थानमा मैदान प्रवेश गरेका थिए।
