युईएफए कन्फ्रेन्स लिगको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ। बुधबार राति पोल्यान्डमा भएको भएको फाइनलमा स्पेनिस क्लब रियल बेटिसमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै ४–१को जितसहित चेल्सीले कन्फ्रेन्स लिग जितेको हो।
चेल्सी कन्फ्रेन्स लिग उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब बनेको छ। यसअघि यो उपाधि वेस्टहमले जितेको थियो। र, चेल्सी च्याम्पिन्स लिग, युरोपा लिग र कन्फ्रेन्च लिग जित्ने पहिलो क्लब पनि बनेको छ।
बुधबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन कप्तान एन्जो फर्नान्डेस, निकोलस ज्याक्सन, जाडोन सान्चो र मोइसेस काइसेडोले गोल गरे भने बेटिसका एब्दे एज्जाल्जोउलीले गोल गरेका थिए।
खेलमा अग्रता भने रियल बेटिसले नवौँ मिनेटमा अब्दे एज्जाल्जोउलीको गोलमा लियो। उसले यो अग्रता पहिलो हाफमा कायमै रोखको थिाये। तर, दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट पुनरामगन गरेको थियो। ६५औँ मिनेटमा कोल पाल्मरको क्रसमा फर्नान्डेसले हेडरमार्फत गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए।
त्यसपछि भने खेल एकपक्षीय बन्यो। ७१औँ मिनेटमा पाल्मरकै अर्को क्रसमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। ८३औं मिनेटमा जाडोन सान्चोले कियर्नन ड्युजबरी हलको पासमा शानदार गोल गरेपछि चेल्सी जिततर्फ अग्रसर भएको थियो। र, इन्जुरी सयमको पहिलो मिनेटमा काइसेडोले गोल गरेपछि चेल्सी ४–१ ले विजयी भयो।
अर्को सिजन भने चेल्सीले च्याम्पियन्स लिग खेल्नेछ। उसले प्रिमियर लिग चौथो स्थानमा सकाएको थियो।
