स्कटल्यान्डलाई हराएर उत्साहित नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

4 Jun, 2025

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराउँदै जित निकालेको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे खेल सुरु हुनेछ।

उत्साहित नेपाल सोही लयलाई नेदरल्यानड्सविरुद्ध पनि कायम राख्दै दोस्रो जित निकाल्न चाहन्छ। तर, लिग २मा राम्रो प्रदर्शन गरिरहेको नेदल्यान्ड्सलाई हराउन नेपालले निकै महनेत गर्नुपर्ने छ।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तिनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ।

नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ५ खेलमध्ये २ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपाल अहिले लिग–२ मा १३ खेलबाट ८ अंक जोड्दै तालिकाको सातौ स्थानमा छ । १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा छ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ ।