यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे। कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिइन्। कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफ्लेले कांस्य हात पारे।
छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए। उनले ५५.६ सेकेन्डमा दौड सकाए। सुदूरपश्चिमका रोहित धामी दोश्रो तथा कोशीका प्रियान्शु शाह तेश्रो भए। सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन । गण्डकीकी आराध्या चालिसे दोश्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेश्रो बने।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए। उनले ५.९८ मिटर जम्प गरे। कोशीका नितेश गच्छदार दोश्रो तथा सुदूरपश्चिमका मोहन परियार तेश्रो भए। उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन्। कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेश्रो भए।
जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन्।
