पोर्चुगलले युईएफए नेसन्स लिग उपाधि जितेको छ।
आइतबार राति म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जितेको छ। यसअघि उसले सन् २०१९मा पहिलो संस्करणको उपाधि जितेको थियो।
निर्धारित समय र थप गरिएको ३० मिनेटको समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा गोलकिपर डिएगो कोस्टा पुनः नायक बन्दा पोर्चुगल च्याम्पियन बन्यो। उनले अल्भारो मोराटाको प्रहार रोकेका थिए।
पेनाल्टीमा पोर्चुगलका गोन्सालो रामोस, ब्रुनो फर्नान्डेस, भिटिन्हा, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्दा स्पेनका मिकेल मोरिनो, एलेक्स बएना र इस्कोले गोल गरेका थिए।
त्यसअघि निर्धारित समयमा अग्रता स्पेनले लियो। उसका मार्टिन जुविमेन्डीले २१औं मिनेटमा गोल गरेका थिए। तर, २६औं मिनेटमा नुनो मेन्डिसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा मिकेल ओयासाबेलले गोल गरेपछि पुनः स्पेनले अग्रता लियो।
पहिलो हाफमा २–१ लेपछि परेको पोर्चुगलले दोस्रो हाफमा उत्कृष्ट खेल पकिस्यो। ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याए। त्यसपछि निर्धारित समय र थप गरिएको समयमा गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।
