आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो। त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।
लिग टु का खेलहरु सकिएपछि असार १ गते यिनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि–२० आई सिरिज हुनेछ।
