अमेरिकामा जारी फिफा क्लब विश्वकपमा दक्षिण अमेरिकी क्लबहरूले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। समूहको दोस्रो चरण चलिहरँदा प्रतियोगितामा सहभागी दक्षिण अमेरिकी क्लबहरुले युरोपका ठूला क्लबविरुद्ध जित पनि निकालेका छन्।
त्यही क्रममा शुक्रबार राति भएको खेलमा ब्राजिलियन क्लब फ्लेमेङ्गो पनि युरोपिन जायन्ट चेल्सीमाथि ३–१को उत्कृष्ट जित निकाल्यो। उसले १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।
फ्लेमेङ्गोको जितमा ब्रुनो हेनरिक, डानिलो र वालेस यानले गोल गरे भने चेल्सीका लागि पेड्रो नेटोले गोल गरेका थिए। फ्लेमेङ्गोले तीनै गोल दोस्रो हाफमा गरेको थियो।
खेलमा १३औं मिनेटमा नेटोको गोलमा चेल्सीले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफमा ३ मिनेटमा २ गोल गर्दै फ्लेमेङ्गो खेलमा फर्किएयो। उसका हेनरिकले ६२ र डानिलोले ६५औं मिनेटमा गोल गरेका थिए।
६८औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो। उसका निकोलस ज्याक्सनले सिधै रातो कार्ड पाएका थिए। त्यसपछि चेल्सी केही दबाबमा आएको थियो। ८३औं मिनेटमा यानले गोल गर्दै टिमको जित सुनिश्चित गरे। यो उनको क्लबका लागि पहिलो गोल हो।
समूह डीकै अर्को खेलमा इएस टुनिसले लस एन्जल्स एफसीमाथि १–०को जित निकाल्यो।
यो नतिजापछि फ्लेमेङ्गो ६ अंकसहित शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेका चेल्सी र टुनिसले दोस्रो र तेस्रो स्थानमा छन्। लस एन्जल्स भने अंकबिहीन छ ।
