क्लब विश्वकपमा रियलको पहिलो जित, सिटीको सानदार जित

23 Jun, 2025
Share:
117 Shares

अमेरिकामा जारी क्लब विश्वकपमा युरोपियन जायन्ट रियल मड्रिडले पहिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियलले मेक्सिकन क्लब पाचुकामाथि ३–१को जित निकाल्यो।

खेलमा रियललका लागि जुड बेलिङ्घम, अर्दा गुलेर र फेडेरिको भाल्भर्डेले गोल गरे भने पाचुकाका इनिअस मोन्टियलले गोल गरेका थिए।

खेलमा रियल सातौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो। उसका राउल असेन्सियोले सातौं मिनेटमै सिधै रातो कार्ड पाएका थिए। त्यसपछि रियल दबाबमा आएको थियो। केही समय पाचुलकाले रियलमाथि दबाब बनाएको थियो। उसका केही प्रहारमाथि रियलका गोलकिपर थिवो कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए।

तर, ३५औं मिनेटमा बेलिङ्घमको गोलमा रियलले अग्रता लियो। उनले फरान गार्सियाको पासमा गोल गरेका थिए। ४३औं मिनेटमा गुलेरले गोन्जालो गार्सियाको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको रियलले ७०औं मिनेटमा तेस्रो गोल थपेको थियो। रियलका लागि भाल्भर्डेले ब्राहिम डियाजको पासमा गोल गरेका थिए। ८०औं मिनेटमा पाचुकाका मोन्टियलले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि थप गोल नहुँदा रियल विजयी भयो।

समूह एचकै अर्को खेलमा अस्ट्रिय क्लब आरबी साल्जबर्ग र साउदी क्लब अल हिलालले गोलरहित बराबरी खेलेका छन्।

यो समूहमा रियल ४ अंकसहित शीर्ष स्थानमा छ भने समान ४ अंक नै जोडेको साल्जबर्ग दोस्रो स्थानमा छ। अल हिलाल भने २ अंकसहित तेस्रो र पाचुक अंकबिहीन छ।

यस्तै, अर्कोे खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले सादनर जित निकाल्यो। उसले युएईको क्लब अल अइनमाथि ६–०को जित निकाल्यो।

खेलमा सिटीका लागि इल्के गुन्डोगानले २ गोल गर्दा क्लाउडिओ इचेवेरी, अर्लिङ हालान्ड, ओस्कार बब र रायन चार्कीले गोल गरे। इचेवेरी र चार्कीको यो सिटीका लागि पहिलो गोल हो।

समूह जीकै अर्को खेलमा युभेन्ट्सले मोरक्कन क्लब बाइदाद एफसीमाथि ४–१को जित निकाल्यो। यो समूहको समान २ जित निकालेका युभेन्ट्स र म्यान्चेस्टर सिटी नकआउट चरणमा प्रवेश गरेका छन्। लिगको अन्तिम खेलमा अब यी दुवै टिम भीड्ने छन्।