अलराउन्डर ग्लेन म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेपछि अस्ट्रेलिया भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ।
मंगलबार राति मुम्बईमा भएको खेलमा चोटसँग जुध्दै म्याक्सवेलले एकल प्रयासमा अफगानिस्तानलाई तीन विकेटले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्यो। यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन्।
२९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ९०–७को खराब अवस्थामा थियो। त्यसपछि ब्याटिङका लागि आएका म्याक्सवेलले चोटसँग जुध्दै दोहोरो शतक प्रहार गरे। चोटका कारण दौडन नसक्ने अवस्थामा रहेका उनले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै २०१ रन बनाए।
म्याक्सवेलको यो इनिङले विश्व क्रिकेटमा थुप्रै रेकर्ड तोडेको छ। यो अस्ट्रेलियान ब्याट्सम्यानले बनाएको पहिलो दोहोरो शतक हो। कप्तान प्याट कमिन्सले म्याक्सवेललाई गतिलो साथ दिए। एक इन्डबाट विकेट जोगाएका उनले म्याक्सेलसँग २०२ रनको साझेदारी गरे, जसमा उनले ६८ बलमा १२ रन मात्र बनाए।
जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६।५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो।
म्याक्सवेल बाहेक मिचेल मार्सले २४, डेविड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाए। अफगानिस्तानका लागि नविन उल हक, रसिद खान र अज्मतुल्लाह ओमरजाइले समान १ विकेट लिए।
जित नजिक पुगेर पनि पराजित भएपछि अफगानिस्तानको अझै सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ। त्यससका लागि उसले अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउनु पर्नेछ भने न्यूजिल्यान्ड र पाकिस्तान अन्तिम खेलमा पराजित हुनुपर्ने छ।
इब्राहिम जद्रानको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।
जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।