नेपाली महिला फुटबल टिमले आज इतिहासकै महत्वपूर्ण खेल खेल्दै छ। एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज बलियो उज्बेकिस्तानको सामाना गर्दै छ।
यो खेल नेपाली टिमको भाग्य निर्धारण गर्न खेल हो। यो खेलमा उज्वेकिस्तानलाई हराउन सके नेपाली टिम २६ वर्षपछि एसियन कपका लागि छनोट हुनेछ।
नेपाल र उज्वेकिस्तानबीचको खेल उज्वेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुनेछ।
यी दुवै टिम छनोटमा अपराजित छन्। दुवै टिमले अघिका समुहका दुवै खेल जितेका थिए भने कुनै गोल आएका थिएनन्। दुवैले समान गोल पनि गरेका छन्।
नेपाल र उज्वेकिस्तानमध्ये एक टिम एसियन कपमा पुगने भएकाले पनि यो खेल दुवैका लागि उत्तिकै महत्वपूर्ण छ।
आजको निर्णायक खेल बराबरीमा सकिए निर्णय पेनाल्टीबाट हुनेछ, त्यसैले पनि खेल रोमाञ्चक हुने छ। समूहमा दुवैले समान १७ गोल गर्दा कुनै पनि गोल खाएका छैनन्। समूह चरणमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो।
नेपालका लागि उज्वेकिस्तानलाई उसकै मैदानमा हराउँदै पहिलो पटक एसियन कप खेल्ने अवसर छ। तर, त्यो त्यति सहज भने छैन। किनभने उज्वेकिस्तान नेपालभन्दा निकै बलियो टिम हो। फिफा वरियतामा उज्बकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ। उज्वेकिस्तान ५१औं र नेपाल १००औं वरियतामा छ।
नेपालले उज्वेकिस्तानलाई अहिलेसम्म हराउन सकेको छैन। दुवै तीन पटक भीड्दा तीनै खेलमा उज्वेकिस्तान विजयी भएको छ। सन् १९९९ मा एसियन कपमा भएको भीडन्तमा नेपाल ६–१ले पराजित भएको थियो। त्यसपछि नेपालले २० वर्षपछि सन् २०१९मा नेपालले नादेज्दा कपमा उज्वेकिस्तानसँग २ खेल खेलेको थियो। समूह चरणमा २–०ले पराजित भएको फाइनलमा ३–२ले पराजित भएको थियो।
उज्वेकिस्तानसँग खेल्नुअघि नेपालकी कप्तान सावित्रा भण्डारीले उज्वेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी छन्। टिममा पोजिटिभ मेन्टालिटी भएको बताउँदै मुख्य चुनौतीका लागि आफूहरु तयार रहेको बताइन्। उनले चुनौतीलाई स्वीकार गरेर उज्वेकिस्तानविरुद्ध फाइट गर्ने बताइन्।
