यू-१६ इस्ट जोन कप विजेता नेपाली टिमलाई राष्ट्रपतिले भेटे

7 Jul, 2025
Share:
117 Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन्।

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे।

उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे।

उनले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको बताए।