क्लब विश्वकपमा पिएसजीसँग रियलको लज्जास्पद हार, पिएसजीले उपाधिका लागि चेल्सीसँग खेल्ने

10 Jul, 2025
Share:
117 Shares

जारी क्लब विश्वकपमा युरोपियन जायन्ट रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा रियल मड्रिड फ्रेन्च क्लब पिएसजीसँग ४–०को फराकिलो अन्तरले पराजित भएको हो।

रियलमाथिको सानदार जितसँगै पिएसजी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अब उसले आइतबार राति हुने फाइनलमा इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ। पिएससी युईएफए च्याम्पियन्स लिग विजेता हो भने चेल्सी युईएफए कन्फ्रेन्स लिग विजेता हो।

पिएसजीलाई जित दिलाउन फाबियन रुइजले २ गोल गरे भने उसमान डेम्बेले र गोन्सालो रामोसले गोल गरे।

१० मिनेटभित्रै २ गोल गर्दै पिएसजीले रियलमाथि दबाब बनाएको थियो। छैठौं मिनेटमा रुइजको गोलमा पिएसजीले अग्रता लियो। डिबक्स भित्र राहुल ओसेन्सियोले गरेको गल्तीमा उनले गोल गरेका थिए।

नवौं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। उनले एन्टोनियो रुडिगरको गल्तीको फाइदा उठाउँदै काउन्टरमा गोल गरेका गरे। त्यसपछि २४औं मिनेटमा काउन्टरमा रुइजले गोल गर्दै पहिलो हाफमा टिमलाई ३–०को अग्रता दिलाए।

पहिलो हाफमा खराब प्रदर्शन गरेको रियलले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो। उसले पिएसजीमाथि दबाब बनाए पनि गोल भने गर्न सकेन। तर, ८७औं मिनेटमा रामोसले गोल गर्दैै पिएसजीलाई ४–०को सानदार जित दिलाए।