परिवर्तित संरचनाको फिफा क्लब विश्वकप आजबाट सकिँदैछ। आज राति १२ः४५ बजे हुने फाइनल खेलसँगै फिफाका महत्वाकांक्षी प्रतियोगिता सकिँदैछ।
प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई युरोपियन टिम फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी भीड्दै छन्।
न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुने यो फाइनलले पहिलो पटक ३२ टिम सम्मिलित यो प्रतियोगिताको पहिलो विजेताको नाम घोषणा गर्नेछ। दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका छन्, र यो खेलले फुटबलको विश्व सर्वोच्चताको लागि कडा प्रतिस्पर्धा देखाउने अपेक्षा गरिएको छ।
युरोपेली च्याम्पियन्स लिग विजेता पिएसजी यो सिजन उत्कृष्ट लयमा छ। यो सिजन लिग १, कप डे फ्रान्स र च्याम्पियन्स लिग जितिसकेको उसले प्रतियोगितामा १ गोल मात्र खाएको छ। त्यसले पनि उसलाई उपाधिको बलियो दाबेदार बनाउँछ। लुइस एनरिकको प्रशिक्षणमा रहेको यो टोलीले सेमिफाइनलमा रियल म्याड्रिडलाई ४–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
युइएफए कन्फरेन्स लिग जितेको चेल्सी दोस्रो उपाधिको खोजीमा छ। एन्जो मारेस्काको नेतृत्वमा चेल्सीले फ्लुमिनेसलाई २–० लाई हराउँदै फाइनल पुगेको हो। यो युवा टिमले उपाधि जित्ने हो भने पिएसजीको बलियो डिफेन्ड्स तोड्नु पर्ने छ भने खतरानक आक्रमणलाई पनि निस्तेज पार्नुपर्ने छ। त्यो त्यति सहज काम भने होइन।
खेलमा पिएसजीलाई बलियो फेवरेट मानिएको छ। जसको आक्रमणमा ओस्माने डेम्बेले, ख्विचा क्वारात्सखेलिया र डिजायर डोउको साथ प्रभावशाली प्रदर्शन गरिरहेको छ। चेल्सी भने कोल पाल्मर र जोआओ पेड्रोको प्रदर्शनमा निर्भर रहनेछ। यद्यपि माइसेज काइसेडोको घाइते अनिश्चितता टोलीका लागि चुनौती बनेको छ।
दुवै टिमले मेटलाइफ स्टेडियमको ८२,५०० दर्शक क्षमताको माहोलमा इतिहास रच्ने अवसर पाएका छन्। फुटबलप्रेमीहरूले यो खेललाई रोमाञ्चक र अप्रत्याशित हुने अपेक्षा गरेका छन्।
प्रतियोगिताको समापनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम पनि उपस्थित हुने बताइएको छ।
