साम्बा न्युजिल्यान्डको क्लब वेलिङ्टन फाेनिक्समा आबद्ध, अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्ने

17 Jul, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा एफसीमा आबद्ध भएकी छिन्।

क्लबले सामाजिक सञ्जालमार्फत सावित्रलाई एक सिजनका लागि अनुबन्धन गरेको जनाएको छ। उसले साम्बालाई क्लबमा स्वागत गर्दै फ्रेन्च क्लब एना भान गुइनगाम्पबाट खेलेका ५ तस्बिर तीन फरक पोस्टमा पोस्ट गरेको छ।

नेपाली राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सम्बालाई फोनिक्सले आगमी सिजनका लागि अनुबन्धन गरेको हो। साम्बालाई स्वागत गर्दै फोनिक्सले उनको नेतृत्व, अनुभव र मैदानमै उत्कृष्ट प्रदर्शनले मैदानभित्र र बाहिर दुवै ठाउँमा क्लबलाई अमूल्य योगदान पुर्‍याउने विश्वाव व्यक्त गरेको छ।

यता, साम्बाले क्लबसँग सम्झौता गरेपछि आफू फेनिक्सबाट खेल्न उत्साहित रहेको बताउँदै धेरै गोल गर्दै समर्थकलाई अत्यधिक खुसी दिने बताएकी छिन्।

फोक्निक न्युजिल्यान्डको क्लब भएपनि उसले अस्ट्रेलियाको शीर्ष डिभिजन महिला लिग खेल्छ। अघिल्लो सिजन फोन्सिकले १२ टिम सहभागी लिग नवौं स्थानमा सकाएको थियो। उसले २३ खेल मध्ये ७ जित ३ बराबरी र १३ व्यहोरोको थियो।

अघिल्लो फ्रेन्च क्लबबाट खेलेका सावित्राले २९ खेल खेल्दै ७ गोल गरेकी थिइन्। त्यहाँ उनले पहिलो रोजाईमा कमै मात्र अवसर पाएकी थिइन्।

त्यसअघि सावित्राले इजरायली क्लब हापोल राननबाट खेलेकी थिइन्। इजराय गाजा युद्धकाका कारण उनले त्यहाँ ४ खेल मात्र खेलेकी थिइन्। जसमा ६ गोल गरेकी थिइन्।

साम्बाले नेपालका लागि ५६ खेलमा ६५ गोल गरेकी छिन्। उनले भर्खरै सम्पन्न महिला एसियन कप छनोटका तीन खेलमा तीन ह्याट्रिक गरेकी थिइन्।