अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हारेपछि विश्वकपबाट बाहिरियो अफगानिस्तान

11 Nov, 2023
Share:
117 Shares

लिगको अन्तिम खेलमा पारजित भएपछि अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ। शनिबार भएको लिगको अन्तिम खेलमा अफगानिस्तान दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भयो।

लिगका ८ खेलमा ४ जित र ४ हार बेहोरोको अफगानिस्तानले ८ अंक जोडेको छ। अघिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध जित नजिक पुगेर पनि पराजित भएपछि अफगानिस्तानको सेमिफाइनल सम्भावना कठीन बनेको थियो। तर, सेमिफाइलन नपुगे पनि ऊ सन् २०२६ मा हुने च्याम्पियन्स ट्रफीमा भने छनोट भएको छ।

यता, दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनल पुगेको थियो। १४ अंकसहित दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले लिग दोस्रो या तेस्रो स्थानमा समाप्त गर्नेछ । आज हुने खेलमा अस्ट्रेलियाले बंगलादेशमाथि फराकिलो जित निकाले उ तेस्रो हुनेछ। सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भीड्ने छन्।

रसी भान डेर डुसेनले अविजित ७६ रन बनाएपछि दक्षिण अफ्रिकाले २ सय ४५ रनको लक्ष्य १५ बलअगाडि नै पार गर्दै अस्ट्रेलियासँग हुने सेमिफाइनल तयारी पूरा गरेको छ । उनले ९५ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै, क्वेन्टन डिककले ४१ रन बनाउँदा एन्डिले फेहलुकवायोले ३९ रनमा नटआउट रहे। बलिङमा अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले समान २ विकेट लिए।

यसअघि अजमतुल्लाह ओमारजाईको अविजित ९७ रनमा अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदै २ सय ४४ रन बनायो। ओमरजाईले १ सय ७ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै रहमत साह र नूर अहमदले समान २६ रनको योगदान दिए।

बलिङमा दक्षिण अफ्रिकाका गेरार्ड कोट्जेले ४ तथा लुंगी एनगिदी र केशव महाराजले समान २ विकेट लिए।