घरमै भारतलाई हाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप

19 Nov, 2023

ओपनर ट्रेभिस हेडले १ सय ३७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि त्यसमै टिकेर अस्ट्रेलियाले आइतबार कीर्तिमानी छैटौंपल्ट विश्वकप क्रिकेट ट्रफी जितेको छ । अस्ट्रेलिया नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतमाथि ६ विकेटको प्रभावशाली जित निकाल्न सफल रह्यो ।

जितका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक समय तीन विकेट गुमाएर ४७ रनको स्थितिमा थियो । त्यही स्थितिमा बायाँहाते ब्याटर हेडले प्रतियोगितामा आफ्नो दोस्रो शतक पूरा गरेका थिए ।

अस्ट्रेलिया जितसम्म पुग्दा ७ ओभरको खेल बाँकी थियो । अस्ट्रेलिया एकदिवसीय क्रिकेटको विश्व च्याम्पियन भएको छैटौंपल्ट हो । यो कीर्तिमान पनि हो । भारतको यस विश्वकपमा पहिलो हार हो भने अस्ट्रेलिया पछिल्ला ९ खेलमा लगातार विजयी रहेको छ । हेडले १ सय २० बलको सामना गरे । उनको ब्याटबाट १५ चौका र ४ छक्का निस्केको थियो । कमजोर सुरुआत गरेको अस्ट्रेलियाका लागि हेडले मार्नस लाबुस्यानसँग चौथो विकेटका लागि निर्णायक १ सय ९२ रनको साझेदारी गरेका थिए ।

हेड र लाबुस्यानले जिम्मेवारीले भरिएको इनिङ्स खेलेका थिए । लाबुस्यान १ सय १० बलमा ५८ रन बनाएर नटआउट रहे । त्यसमा ४ चौका सामेल थियो । खेलको अन्त्यतिर हेड आउट भएपछि ग्लेन म्याक्सवेल क्रिजमा आए र उनले विजयी रन बटुले । भारतीय बलरमध्ये जसप्रित बुमराहले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाई २ सय ४० रन बनाएको थियो ।

केएल राहुल र विराट कोहलीले आ–आफ्नो अर्धशतक पूरा गरे पनि त्यो ठूलो स्कोर खडा गर्न पर्याप्त रहेन । राहुलले १ सय ७ बल उपयोग गर्दै ६६ रन बनाए । उनले यस क्रममा एकै चौकामात्र प्रहार गरे । कोहलीले भने ६३ बल सामना गर्दै ४ चौका प्रहार गरेर ५४ रन बनाए । ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएका थिए । सुरुदेखि आक्रामक देखिएको उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

अस्ट्रेलियाली बलरमध्ये मिचेल मार्सले ५५ रनमा ३ विकेट लिए । जोस हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिए । घरेलु भूमिमा हारसँगै भारतको सन् २०१३ यता पहिलो ठूलो उपाधि जित्ने सपना अधुरो नै रह्यो । त्यो वर्ष भारतले च्याम्पियन्स ट्रफी जितेको थियो । हेडको शतक विश्वकपको फाइनलमा सातौं रह्यो । फाइनलमा अस्ट्रेलियाली ब्याटरले बनाएको यो तेस्रो शतकमात्र हो । यसअघि रिकी पोन्टिङले सन् २००३ र एडम गिलक्रिस्टले सन् २००७ को फाइनलमा शतक बनाएका थिए ।

पछिल्लो सेप्टेम्बर दक्षिण अफ्रिका भ्रमणका क्रममा हेडको हातमा चोट लागेको थियो र उनको विश्वकप खेल्ने सपना जोखिममा थियो । तर, अस्ट्रेलियालाले उनलाई टिममा राख्ने निर्णय गरेको थियो । लिग चरणको छैटौं खेलमा पनि हेडले न्युजिल्यान्डविरुद्ध निर्णायक साबित शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध कोलकातामा प्राप्त सेमिफाइनल जितमा पनि उनले बहुमूल्य ६२ रन बनाएका थिए ।

जुनमा अस्ट्रेलियाले भारतलाई नै हराएर वर्ल्ड टेस्ट च्याम्पियनसिप जित्दा हेडले १ सय ६३ रनको निर्णायक इनिङ्स खेलेका थिए । प्लेयर अफ द म्याच ट्रेभिस हेड भए भने प्लेयर अफ द सिरिजको उपाधि भारतका विराट कोहलीले प्राप्त गरेका थिए । उनले यसै विश्वकपमा आफ्नो ५० औं शतक पूरा गरेका थिए ।