मकवानपुरमा साम्बालाई सम्मान

2 Aug, 2025
Share:
117 Shares

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन्। शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी हुन्।

‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।

देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्षले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन् । हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौं।’

साबित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ। म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु।’

साम्बा नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन्।