नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनि अक्सन आगामी शनिबार हुँदैछ। जसमा ८ टिमले १५० खेलाडीमाथि बोली लगाउने छन्।
यही अक्सनका लागि नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई काठमाडौं आएका छन्। दोस्रो संस्करणको एनपिएलमा मोन्टी काठमाडौं गोर्खाजको मुख्यप्रशिक्षक हुन्।
बिहीबार दिउँसो काठमाडौं आएका उनलाई त्रिभवुन विमानस्थलमा काठमाडौं गोर्खाजका सिईओ सुरजसिंह ठकुरी, प्रशिक्षक बसन्त शाहीले स्वागत गरेका थिए।
विमानस्थलमा उनले आफू नेपालबाट कहिल्यै टाढा नभएको बताउँदै त्यहीभएर पुनः काठमाडौं आएको बताए। यसपटक फरक जिम्मेवारीका साथ नेपाल आएको उनले बताए।
काठमाडौं गोर्खाजले मार्की खेलाडीमा अलराउन्डर करण केसीलाई निरन्तरता दिएको छ भने भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।
