बायर्न छाडेका कोमनले रोनाल्डोसँगै खेल्ने

12 Aug, 2025
Share:
117 Shares

फ्रेन्च विंगर किंग्स्ले कोमन साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध हुने भएका छन्। यी २९ वर्षीय फ्रेन्च विंगर जर्मन जायन्ट बायर्न म्युनिख छाड्दै अल नासर जान भएका हुन्।

अल नासर र बायर्नबीच कोमनको ट्रान्सफरका विषयमा सहमति भइसकेको छ। कोमनका लागि अल नासरले ३० मिलियन युरो खर्चिएको छ।

अब मेडिकल टेस्ट पास गरेपछि कोमनले अल नासरसँग औपचारिक सम्झौता गर्ने छन्। त्यसपछि कोमनले सुपर स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदान र ड्रेसिङ सेयर गर्ने छन्।

उनले अल नासरसँग ३ वर्षको सम्झौता गर्ने बताइएको छ। अल नासरमा उनले वार्षिक २० देखि २५ मिलियन युरो पाउने बताइएको छ।

कोमन सन् २०१५ मा युभेन्ट्सबाट बायर्न आएका थिए। दुई सिजन लोनमा बिताएपछि सन् २०१७मा उनी औपचारिक रुपमा बायर्नमा आबद्ध भएका थिए। बायर्नमा उनले ३३९ खेल खेल्दै ७२ गोल गरेका छन्।

१० सिजन बिताउँदा पनि कोमन बायर्नको प्रमुख विंगर भने कहिल्यै भएनन्, उनी दोस्रो रोजाई कै विंगर रहे। उनले सिजनमा सर्वाधिक २९ खेल मात्र खेलेका छन्।