अर्को वर्ष वेस्टइन्डिज र अमेरिकमा संयुक्तरुपमा आयोजना हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अफ्रिका छनोटमा जिम्बाबेले पहिलो जित निकालेको छ।
नामेवियामा जारी छनोट प्रतियोगितामा बिहीबार जिम्बाबेले तान्जेनियालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा २ अंक बनाएको छ। ७ टिमले सहभागीता जनाएको छनोट प्रतियोगिताको तालिकामा जिम्बाबे चौथो स्थानमा रहेको छ । शीर्ष २ टिमले अर्को वर्षको टी २० विश्वकपमा स्थान पक्का गर्ने छन्।
बिहीबार भएको खेलमा तान्जेनियाले दिएको ९७ रनको सामान्य लक्ष्य जिम्बाबेले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो। जिम्बाबेलाई जित दिलाउन तदिवानाशे मरुमणिले ३९ तथा सिनि विलियम्सले ३६ रनको नटआउट पारि खेले भने इनोसेन्ट कैयाले २१ रन जोडेका थिए । जिम्बाबेले गुमाएको १ मात्र विकेट तान्जेनियाका सन्जयकुमार ठाकोरको नाउँमा रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि एले केमोटले २४ तथा भिक पटवाले १८ र एले किमोटले १६ रन जोडेका थिए । अन्यले गतिलो योगदान दिन सकेनन्
तान्जेनियालाई कम रनमा रोक्ने क्रममा जिम्बाबेका स्टार खेलाडी सिकन्दर राजा र रिचगार्ड नगर्भाले समान ३–३ विकटे लिए ।