आजबाट ताजकिस्तानमा सुरु भएको एएफसी यू–२३ एसियन कप छनोटनमा नेपालले खराब सुरुआत गरेको छ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० को फराकिलो अन्तरले पराजित भयो।
नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल खाएको थियो। निकै फितलो प्रदर्शन गरेको नेपालले ताजकिस्तानको पोस्टसम्म बल लैजानै सकेन।
खेलमा ताजकिस्तानका लागिमुहम्मद अली अजिजबोइभले दुई गोल गर्दा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले पनि गोल गरे।
योसँगै समूह ‘के’मा रहेको ताजकिस्तानले ३ अंक जोड्दै छनोट हुने सम्भावना बलियो बनाएको छ।
नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ। अब नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ।
नेपाली टिम कप्तान आयुष घलानविनै मैदान उत्रिएको थियो। यू–२० एसियन कप छनोटको अन्तिम खेलमा रातो कार्ड पाएका कारण यो खेलमा उनी प्रतिबन्धमा थिए।
