अस्ट्रेलियन क्रिकेटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

5 Sep, 2025
Share:
117 Shares

अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन दोस्रो संस्करणको नेपाल प्रियिमर लिग (एनपिएल)मा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन्।

३५ वर्षीय लिनलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको हो। विश्वाकै चिर्चित सबै फ्रेन्चाइज लिग खेलिसकेका लिनले अस्ट्रेलियाका लागि १८ टि–२० आई र ४ एकदिवसीय खेलेका छन्।

२९३ टि–२० खेल खेल्दै उनले ८३५५ रन बनाएका छन्। जसमा उनले ५ शतक र ५५ अर्धशतक प्रहार गरेका छन्।

उनी बिग बास लिगका सर्वाधिक रन बनाउने र धेरै छक्का हान्ने खेलाडी हुन्। बिग बासमा उनले १२७ खेल खेल्दै १ शतक र ३१ अर्धशतक मद्दतमा कुल ३९५५ रन बनाएका छन्। उनले कुल २२० छक्का पनि प्रहार गरेका छन्।

लिनले मुम्बई इन्डियन्स, कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदरावादबादबाट आईपिएल खेलेका छन्। उनले क्यारेबियन प्रियिमर लिग, पाकिस्तान सुपर लिग, आईएल टि–२०, द हनड्रेट, बंगलादेश प्रियिमर लिगलगायतका विश्वभरकै लिग खेलेका छन्।

एनपिएलमा आबद्ध भएपछि नेपाल आएर क्रिकेट खेल्ने उत्साहित रहेको बताएका छन्। ‘नेपाल प्रिमियर लिगमा खेल्ने कुराले निकै उत्साहित छु,’ उनले भनेका छन्, ‘यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ।’

यस्तै, टिमका मालिक स्वतन्त्रप्रताप शाहले अनुभवी अस्ट्रेलियन खेलाडी टिममा अनुबन्धन भएको निकै खुसी लागेको बताएका छन्। उनको आगमनले टिम निकै बलियो हुनुका साथै एनपिएलको प्रतिष्ठान समेत बढ्ने शाहले बताए।