च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख र पिएसजीले विजयी सुरुआत गरेका छन्।
बुधबार राति भएको खेलमा बायर्नले इंग्लिस क्लब चेल्सीमाथि ३–१को जित निकाल्यो। खेलमा बायर्नका लागि ह्यारी केनले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो। चेल्सीका कोल पाल्मरले गोल गरेका थिए।
२०औं मिनेटमा ट्रोवेह चालबाहले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता लियो। २७औं मिनेटमा पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेलमा बायर्नलाई २–०को अग्रता दिलाए।
२९औं मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर, ६३ औं मिनेटमा पुनः केनले गोल गरेपछि बायर्न ३–१ले विजयी भयो।
यस्तै, अर्को खेलमा पिएसजीले एट्लान्टालाई ४–०ले हरायो । पिएसजीका लागि मार्किन्होस, ख्रिचा काबाराच्खेलिया, नुनो मेन्डेस र गोन्सालो रामोसले गोल गरेका थिए।
खेलमा मार्किन्होसले तेस्रो मिनेटमै पिएसजीलाई अग्रता दिलाए। ३९औं मिनेटमा काबाराच्खेलियाले टिमको अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा प्राप्त पेनाल्टीमा ब्राड्ली बार्लोला गोल गर्न चुक्दा पिएसजीले पहिलो हाफमा ३–०को अग्रता लिने अवसर गुमाएको थियो।
त्यसपछि नुनो मेन्डेसले ५१औं र रामोसले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि पिएसजीले खेल एकपक्षीय रुपमा ४–०ले जित्यो।
