यू–१७ साफमा नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनल सम्भावना कठीन

18 Sep, 2025
Share:
117 Shares

श्रीलंकामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। बिहीबार साँझ कोलम्बोमा भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको हो।

यो फराकिलो हारसँगै तीन टिम रहेको समूह एबाट सेमिफाइनल पुग्ने नेपालको सम्भावना केही कठीन बनेको छ। अब नेपालले सेमिफइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेल कुर्नुपर्ने भएको छ।

यो समूहमा नेपाल र बंगलादेश दुवैको समान ३ अंक छ। गोलअन्तरमा बंगलादेश शीर्ष र नेपाल दास्रो स्थानमा छ। श्रीलंका अंकबिहीन छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–०ले हराएको थियो।

आज भएको खेलमा बंगलादेशले मोहम्मद सबिर इस्लामको गोलमा इन्जुरी समयको दोस्रो मिनेटमा अग्रता लियो। दोस्रो हाफको सुरुआतमै बंगलादेशले अग्रता दोब्बर बनायो। ४९औं मिनेटमा उसका ओप रहमानले गोल गरेका थिए।

५० औं मिनेटमा बंगलादेशका लागि मोहम्मद आरिफले तेस्रो गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा मोहम्मद मानिकले गोल गरेपछि बंगलादेश ४–० ले विजयी भयो।