नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियाविरुद्धको टि–२० सिरिजका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले शनिबार दिउँसो इन्दू बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।
नेपालले आसन्न टि–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि मलेसियासँग ५ खेलका टि–२० सिरिज खेल्न लागेको हो। सिरिज क्लालालम्पुरमा अक्टोबर २ देखि ८ सम्म हुने छ।
नेपाली टिममा लामो समयपछि अलराउन्डर सीता रानामगरले पुनरागमन गरेकी छिन्। विश्वकपको एसियन छनोट खेलेको टिममा क्यानले ५ पविर्तन गरेको छ।
नेपाली टिममा सीतासँगै रचना चौधरी र सोमु विष्टले पुनरागमन गर्दा यशोदा विष्ट र सावित्री धामी पहिलोपटक सिनियर टोलीमा परेका छन्।
विश्वकपको एसिया छनोटमा रहेका सबनम राई, मनिषा उपाध्याय, ईश्वरी विष्ट, बिन्दु रावल र रोमा थापा पनि यो पटक टिममा परेनन्।
नेपाली टिम मलेसिया पुगिसकेको छ। सिरिजअघि नेपाली खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने छन्। सिरिजका ५ टिमबाट नेपाली खेलाडीले खेल्ने क्यानले जनाएको छ।
